अमेरिकि सिनेटद्वारा चीनलाई टक्कर दिन अर्बौ डलर खर्च पाउने विधेयक पारित

रेडियो जुनतारा डेस्क    प्रकाशित: २०७८-२-२५ गते   ५२९१ पटक हेरिएको

जेष्ठ २६ 

अमेरिकाको माथिल्लो सदन सिनेटले चीनलाई टक्कर दिन विभिन्न विषयमा आगामी पाँच वर्षमा झन्डै २ सय ५० अर्ब अमेरिकी डलर खर्च पाउने विधेयक पारित गरेको छ।

मंगलबार सिनटमा दुबै पार्टीका सांसदहरूले उक्त विधेयकलाई पारित गर्न मतदान गरेका हुन्। सिनेटमा झिनो बहुमत भएको डेमोक्रेटिक पार्टीलाई विपक्षी रिपब्लिकन पार्टीका सांसदले साथ दिएपछि विधेयक दुई तिहाइ बढी मतले पारित भएको हो। आर्थिक नीतिहरूमा यी दुई पार्टीहरूले यसअघि प्राय: एक ठाउँमा आउँदैनथे।

पछिल्लो समय आक्रामक रूपले अघि बढिरहेको चीनलाई टक्कर दिने विधेयक पारित गर्न सिनेटमा उनीहरू एकमत भएका हुन्।

विधेयकका पक्षमा ६८ र विपक्षम ३२ मत परेको थियो। पारित भएको विधेयकअनुसार अमेरिकाले अमेरिकी प्रविधि र अनुसन्धानका लागि १८९ अर्ब डलर, अमेरिकी सेमिकन्डक्टर र टेलिकम्युनिकेशन सामग्रीको उत्पादन बढाउन ५४ अर्ब, अटो निर्माताहरूलाई चाहिने चिप्सका लागि २ अर्ब खर्च गर्न सकिनेछ।

राष्ट्रपति जो बाइडेनले उक्त विधेयकको स्वागत गरेका छन्।२४ सय पृष्ठको उक्त विधेयकमा चीनसँग प्रतिष्पर्धाका विभिन्न आयामबारे चर्चा गरिएको छ।विधेयकमा बेइजिङको विश्वव्यापी प्रभावलाई कम गर्न कूटनीतिलाई पनि अपनाइने उल्लेख छ।

यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले 'अमेरिका पहिला' भन्ने नीति लिएर कतिपय मित्र राष्ट्रलाई चिढ्याएका थिए। यो विधेयकमा पनि अमेरिकाका मित्र  र विचार मिल्ने राष्ट्रहरूसँग सहकार्य बढाउने उल्लेख छ।

© Copyright 2023 Eradiojuntara.com. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech