निषेधाज्ञा केही खुकुलो भएसँगै पसलहरुमा चहलपहल बढ्यो

रेडियो जुनतारा डेस्क    प्रकाशित: २०७८-३-२ गते   ७९०४ पटक हेरिएको

असार २ ,सर्लाही

राजिव शाह

सर्लाहीमा सदरमुकाम मलंगवा सहित जिल्लामा दैनिक उपभोग्य वस्तुहरुको पसलमा चहलपहल बढेको छ । सर्लाहीमा असार १ गतेदेखि लागु हुनेगरी निषेधाज्ञा केही खुकुलो भएको छ । परिवर्तित नियम अनुसार दैनिक उपभोग्य सामग्रीको पसललाई दिउसो १२ बजेसम्म खोल्न दिइएपछि किराना तथा खाद्यान्न पसलहरुमा चहलपहल बढेको हो ।

यसअघि बिहान १० बजेसम्म मात्रै अत्यावश्यक पसल खोल्न दिईएको थियो । असार १ गतेदेखि भने दिउँसो १२ बजेसम्म खोल्न दिइएको हो । १० बजेसम्म पसल खोल्न दिदाँ उपभोक्तालाई सामग्रीहरु पुर्याउन गाह्रो भएको भएपनि अहिले भने अलि सहज भएको उद्योग बाणिज्य संघ मलंगवा सर्लाहीका अध्यक्ष बिरेन्द्र प्रसाद साहले बताएका छन् ।

सर्लाहीमा महामारी हदैसम्म कम भएकोले परिस्थितिको मुल्यांकन गरेर बिस्तारै खुकुलो बनाउँदै जानुपर्ने साहले बताएका छन् ।  जिल्ला प्रशासन अब पुर्ण रुपमा ब्यापार व्यवसाय संचालन गर्न दिनु पर्ने  मलंगवा चेम्बर अफ कमर्सका अध्यक्ष अमित अग्रवालको भनाई रहेको छ । अहिले बन्दीको नाममा त्रास देखाएर ग्राहक ठगिन लागेको गुनासो बढ्न  थालेको अग्रवाल बताउछन् ।

सर्लाहीमा अहिले हार्डवेयर र पुस्तक पसल , सुन पसल कपडा पसल खुल्दा पनि सहज भएको छ । जनस्वास्थ्यको मापदण्ड अपनाउँदै दिउँसो १२ बजे सम्म आवश्यक सामग्री किन्नको लागि प्रशासनले आग्रह गर्दै आएको भए पनि जिल्लामा खुल्ला रुपमा हाट बजार लाग्न थालेको देखिन्छ । सर्लाहीमा असार ७ गते सम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।

© Copyright 2023 Eradiojuntara.com. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech