निरन्जन साह
गौशाला ,माघ १६
महोत्तरीको गौशाला नगरपालिकाका स्वयंसेविकाले अब ३ हजार भत्ता पाउने भएका छन् । स्वास्थ्य क्षेत्रमा कार्य गर्ने गौशालाका स्वयंसेविकाले मासिक रुपमा अब देखि ३ हजार भत्ता पाउने गौशाला नगरपालिकाका नगर प्रमुख शिवनाथ महतोले बताएका छन् ।
आइतबार नगरपालिकाको भवनमा पत्रकार सम्मेलन गरि उनले सो कुराको जानकारी दिएका हुन् । त्यति मात्र नभएर गौशाला नगरपालिकाले ५ वर्षको अवधिमा स्वास्थ्य क्षेत्रमा गरेका सफल कामहरुको बारेमा समेत जानकारी गराएका छन् ।
गौशाला नगरपालिकाका रहेको प्रमुख स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएको खण्डमा गर्भवती महिलालाइ नि:शुल्क रुपमा नगरपालिकाले एम्बुलेन्स द्वारा जनकपुर पठाउने सेवा प्रदान गर्ने भएको छ ।
त्यस्तै न.पा.को कोभिड अस्पताल तयारी अवस्थामा रहेको ,नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रमा २४ औ घण्टा बर्थिंग सेवा प्रवाह भईरहेको ,परिवार नियोजनका कार्यक्रमहरु संचालन भईरहेको , हरेक वडाका क्लिनिक संचालनमा रहेको ,ज्येष्ठ नागरिकहरुलाई नि:शुल्क मधुमेह जाच गरिने तथा औषधि नि:शुल्क वितरण भईरहेको , एम्बुलेन्स खरिद गरि सेवा प्रवाह भईरहेको , फाल्गुन देखि शव बाहन संचालन हुने जानकारी दिएका छन् ।
त्यसैगरि नगर प्रमुख महतोले गौशाला नगरपालिका पूर्ण खोप नगरपालिका घोषित भएको जानकारी समेत सम्मेलनमा गराएका छन् । साथै खोप सम्बन्धि कार्यहरु पनि संचालन भईरहेको उनले बताए ।