सप्तरीको एक स्थानिय तहको विद्यालयमा बालाबालिकाहरुको खाजामा पनि छोडेन बाडफाड गर्न

रेडियो जुनतारा डेस्क    प्रकाशित: २०७८-११-६ गते   १३०७ पटक हेरिएको

नविन यादव 

राजविराज, ०६ फागुन ।

सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका ७ स्थित रहेको लक्ष्मी बल्लभ नरसिंह माध्यमिक विद्यालय बभनगामाकट्टीमा खाजामा मनपरी गरेको बालाबालिकाहरुले गुनासो गरेका छन् ।

सरकारले प्रथामिक तहमा अध्यनरत छात्रछात्राका लागि दिदै आएको खाजा कार्यक्रममा विद्यालयले मनपरी गरेको उनीहरुले गुनासो गरेका हुन् । दैनिक खाजाको व्यवस्था गर्नुपर्नेमा विद्यालयले यस्तो नगरेको छात्रछात्राहरु बताउँछन् । विद्यालयमा अध्यनरत कक्षा ५ का एक छात्राले विद्यालय संचालन भएको पाँचौ दिनमा मात्र खाजा खानु पाएको बताए ।

विद्यालय संचालन भएको हप्ता पुग्न लग्दा मात्र खाजा दियो, उनले भनिन्, फागुन १ गतेदेखि विद्यालय संचालन भएपनि २ दिन मात्र खाजा उपलब्ध गरे । विद्यालयले मन लागेमा खाजा बाँड्ने गरेको तथा नत्र भने कसैलाई खाजा नदिने गरेको एक छात्राले बताईन् ।

अरु ठाँउमा दैनिक खाजा दिने गरेपनि हाम्रो विद्यालयमा हप्ताको दुई तीन दिन मात्र दिने गरेको भन्दै छात्रछात्राले गुनासो गरे । बालबालिकाको खाजाको लागि आएको बजेटलाई प्रधानाध्यापक र शिक्षकको मिलोमतोमा कटौती गरी एकआपसमा बाँडफाँड गरेर खाने गरेको अभिभावकहरुले आरोप लगाएका छन् ।

विधार्थी संख्या बढाएर बजेट निकासा गरेको जानकारी दिदै अभिभावकहरुले उपस्थित नभएको विधार्थीको समेत हाजिरी पेश गरी निकालेर अनियमितता गरेको बताए । खाजामा अनियमितता गरेकोबारे गाउँपालिकाको शिक्षा शाखामा पटक–पटक जानकारी गराउँदा समेत कुनै सुनुवाई नभएको अभिभावकहरुले गुनासो गरे ।

उक्त विद्यालयमा प्रथामिक तहमा १ सय ६२ जना विधार्थी रहेको तथ्यांकमा उल्लेख छ । विधालयमा ४० देखि ४५ जना विद्यार्थीहरु नियमित आउने गरेको सोही विद्यालयको एक शिक्षकले नाम उल्लेख नगर्ने सर्तमा जानकारी गराए । प्रधानाध्यापक विपिन झाले आफु काम विशेषले बाहिर भएकाले छात्रछात्रालाई खाजा खुवान नसकिएको स्वीकार गरे ।

तिलाठी कोईलाडी गाउँपालिकाका शिक्षा शाखा प्रमुख राजेश झाले विद्यालयमा खाजामा अनियमितता गरेको पाईएमा खाजाको बजेटमा कटौती हुने बताए । खाजाको बजेट मागअनुसार उपलब्ध गराएको जानकारी दिदै झाले विद्यालयको अनुगमन गर्ने जिम्मा गाउँपालिकामा निहित भएकाले अनियमितता भए नभएको कुराबारे बुझ्ने  आफ्नो सरोकारको विषय भएकोले कसैले चासो नराख्दा हुन्छ भन्दै एक्कसी आबेशमा आउँदै प्रतिक्रिया दिए ।

© Copyright 2020 Nigarani Today. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech