किसन साह
आजभन्दा १५ वर्ष अघिसम्म जनकपुर क्षेत्रको शिक्षा भरपर्दो थियो । जसकारण स्थानियहरु यतै शिक्षा पुरा गर्ने गरेका थिए ।
अहिलेभने यस क्षेत्रमा संचालित बोर्डिङ्ग स्कूलका संचालकहरु शिक्षाको व्यापारमा मात्रै केन्द्रित रहेको कारण शैक्षिक स्तर खस्केको पाइएको छ । हुनत शिक्षाको नाममा विभिन्न आकर्षक प्रचार प्रसार गर्ने काम हुन्छ । तर वास्तविकता भने फरक हुन्छ । जुन विद्यार्थी भर्ना गरेपछि मात्र थाहा हुन्छ ।
अहिले जनकपुरमै मासिक १० हजार बढीसम्म शुल्क असुल्ने गरी शैक्षिक व्यापारको थालनी भएको छ । तडकभडकको साथ तिनीहरुले प्रचारप्रसार गरेका हुन्छन् । आजभन्दा १५ वर्ष अघि त्यहाँ पढ्ने विद्यार्थीलाई ट्युसन नपढाउदा पनि हुने गरेकोमा अहिले थप शुल्क तिरेर ट्युसन पढाउनुपर्ने बाध्यता छ ।
ति स्कूलका संचालकहरुले व्यक्तिगत स्वार्थलाई मात्र ख्याल गर्ने तर स्कूलमा योगदान दिने शिक्षकहरुको तलव दिनमा ढिलाई गर्ने गरेको कारण पनि त्यहाँ अध्यापनरत शिक्षकहरु विकल्प खोजेर बाहिरीने गर्दछन् । अनि नयाँ अनुभव नभएका शिक्षक ल्याउने काम व्यापारीबाट हुन्छ । एक त शिक्षकहरुको तलव थोरै त्यो पनि पाउन महिनौ कुर्नुपर्ने बाध्यता । तलव दिनमा ढिलाई भएपछि हातमुख जोर्न समस्या भएको भन्दै बिचबिचमै अनुभवी शिक्षकहरुले काम छाड्न बाध्य हुनुपरेको अवस्था छ ।
बोर्डिङ्ग स्कूलले कमाउने नाममा टाई÷ बेल्ट, पोशाक, डायरी बिक्री अनि तोकेको स्टलबाटै किताव किन्न बाध्य बनाउने कार्य गर्दछन् । त्यति मात्र नभएर त्रैमासिक रुपमा परीक्षा संचालन गर्ने गर्दछन् ताकि विद्यार्थीहरुबाट शुल्क असुल्न सकियोस् । परीक्षा वापतको शुल्क पनि लिने गरिन्छ । मासिक शुल्क पनि सामान्य रुपमा पनि ५ हजार वा सो भन्दा बढी विद्यार्थीबाट लिने गरिन्छ । तरपनि योगदान दिनेहरुको मनोवल उकास्ने गरी कार्य हुंदैन ।
त्यही कारण पनि पढाउने अनुभव भएका शिक्षकहरु अन्यत्र जान बाध्य हुने गरेको अवस्था छ । शिक्षक तथा अन्य कर्मचारीले स्कूलको नियमको पूर्ण पालना गर्नुपर्छ तर स्कूलले तलवमा ढिलाई गर्दा पनि तलव माँग्न मिल्दैन । माँगेमा तलव नदिएर हटाउने सम्मको काम हुन्छ । यसकारण शैक्षिक माफियाको हातमा शिक्षा पुगेको स्पष्ट भएको छ । ति स्कूलहरुलाई साथ दिने काम नेपाल सरकारका कर्मचारीबाट हुन्छ । शिक्षा कार्यालयका कर्मचारीलाई पैसो खुवाएपछि पायक पर्नेगरी सेन्टर मिलाईदिने काम हुनेगर्दछ । यस्तो अवस्थाका कारण पनि शैक्षिक माफियालाई शैक्षिक स्तरमा मनपर्दी गर्न सजिलो भएको छ । यही कारण त्यस्ता माफियाहरु प्रचारमा केन्द्रित नभएर वास्तविकता बुझेर मात्र आ–आफ्नो सन्तानलाई भर्ना गर्न सुझाव दिइन्छ ।