बगैँचा बन्न एउटा मात्रै फूल पर्याप्त नहुने : बलिउड अभिनेता गोबिन्दा

रेडियो जुनतारा डेस्क    प्रकाशित: २०७९-५-१२ गते   ४२८५ पटक हेरिएको

भदौ १२ गते

नेपाली टेलिभिजन रियालिटी शो सुपर डान्सर नेपालको जज बनेका बलिउड अभिनेता गोबिन्दाले यस शोमार्फत् अझै धेरै गोबिन्दा र अक्षय कुमार जन्मिउन् भन्ने आशा व्यक्त गरेका छन् । आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा श्रीमती सुनिता आहुजासँगै उपस्थित उनले सो कुरा बताएका छन् ।

उक्त कार्यक्रममा उनले भनेका छन्, ‘मानिसहरुले जे जति काम गर्छन् त्यसलाई याद गरियाेस् भन्ने म चाहन्छु । एउटा विधिमार्फत् जो बच्चा शीर्ष स्थानमा आउँछन् त्यसमध्येबाट अन्य गोबिन्दा जन्मिउन्, अन्य अक्षय कुमार आउन् । धेरै बच्चाहरु अघि बढ्नेछन्, कस्तो राम्रो माहौल तयार होला

उनले बगैँचा बन्न एउटा मात्रै फूल पर्याप्त नहुने पनि बताएका छन् । उनी भन्छन्, ‘कुनै एउटा फूलले बगैँचा त हुँदैन । बगैँचाका लागि धेरै नै फूल चाहिन्छ । धेरै राम्रो व्यवस्था चाहिन्छ ।’ आयोजकतर्फ इंगित गर्दै उनले भने ‘अहिले तपाईंहरु माली जस्तै हुनुहुन्छ । ’

यस्तै उनले कला र संस्कृतिलाई देशको मेरुदण्डसमेत बताएका छन् । उनले भनेका छन्, ‘यसैका कारण कुनै न कुनै रुपमा तपाईंको पहिचान स्थापित हुन्छ । यस्ता धेरै मानिसहरु छन्, जोसँग धेरै पैसा हुन्छ तर भीडमा हुँदा उनीहरुलाई कसैले चिन्दैनन् । त्यसैले पहिचान तपाईंको कला र संस्कृतिसँग निर्धारण हुन्छ किनभने तपाईं आफ्नो जरासँग जोडिएको हुनुहुन्छ । आफ्नो जरासँग जोडिएको जो पनि चाहे जतिसुकै माथि जाओस्, आफ्नो जरासँग जोडिएको छ भने हरियो नै रहन्छ । ’

उनी थप्छन्, ‘कला र संस्कृतिसँग जोडिएर तपाईंले पूजाभन्दा कम काम गरिरहनुभएको छैन । पूजा प्रार्थना यही हो । माता सरस्वतीको कृपा जो व्यक्तिमा पर्छ, उनीहरु नै धनाढ्य हुन्छन्, उही पैसावाला हुन्छन् किनभने उनीहरुले सूक्ष्म रुपमा सबैतिर हेर्न थाल्छन् ।’

कला कै कारण आफू पीडाको समयमा पनि विचलित हुनु नपरेको उनले बताए । यसबारे उनी भन्छन्, ‘ हामीले हाम्रो भाग्यमा जे लेखिएको छ त्यहि पाउँछौँ । म पीडाको समयमा पनि विचलित भइनँ । धेरै भयो मेरो फिल्म नचलेको तर मेरा गीत र नृत्य सधैँ चल्ने गर्छन् ।’

उनले नेपालीबाट पाएको मायाप्रति आभार व्यक्त गर्दै यो सबै आफ्नी श्रीमतीका कारण पाएकोसमेत बताएका छन् ।

यस्तै, उक्त कार्यक्रममा गोबिन्दाकी श्रीमती सुनिता आहुजाले नेपालका बच्चाहरुले अब भारतलाई मात दिनुपर्ने बताएकी छिन् । नेपाली भाषामा बोल्दै उनले भनेकी छिन्, ‘म जहिले पनि सोच्छु कि नेपालको बच्चाहरुले धेरै राम्रो गर्नुपर्छ, भारतलाई मात दिनुपर्छ । नेपालका लागि मेरो धेरै माया छ । ’

© Copyright 2023 Eradiojuntara.com. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech