देशका  विभिन्न स्थानबाट लागू औषधसहित सात जना पक्राउ

रेडियो जुनतारा डेस्क    प्रकाशित: २०७९-६-९ गते   ३१७८ पटक हेरिएको

  ९ असोज
अवैध लागू औषधसहित देशका विभिन्न स्थानबाट  सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले पर्साको वीरगन्ज महानगरपालिका–१६ रजत जयन्ती चोकबाट ३ केजी गाँजासहित भारत घर भएका ७० वर्षीय ब्रहमबाबा केवटलाई शनिबार उक्त गाँजा सहित पक्राउ गरेको हो ।  
यसै गरी पर्साकै वीरगन्ज महानगरपालिका–१६ शङ्कराचार्य गेटबाट सेतो हेरोइन ५ सय मिलिग्राम र नाइट्राभेट १२ ट्याब्लेटसहित भारत घर भएका १९ वर्षीय आशिष शर्मालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगन्जबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त लागू औषध सहित फेला पारी पक्राउ गरेको हो ।

मोरङको रंगेली नगरपालिका–९ पट्वारी टोलस्थित सडकबाट नियन्त्रित लागू औषध हाइड्रोकलोराइड २ हजार ५ सय ट्याब्लेट र डिसिक्लोमाइन हाइड्रोक्लोराइड ५ सय ट्याब्लेट सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही नगरपालिका–६ बस्ने ४१ वर्षीय सुरेश कुमार साह छन् । उनलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । 
इलाका प्रहरी कार्यालय दोहमनाबाट खटिएको प्रहरीले को.२४ प ६८०८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त लागू औषध सहित फेला पारी मोटरसाइकल चालक साहलाई पक्राउ गरेको हो । 
सिरहाको नरहा गाउँपालिका–३ नयाँ चौहर्वा चोकबाट ५ केजी गाँजा ५ सहित गोलबजार नगरपालिका–१० धर्मपुर टोल बस्ने २६ वर्षीय अनिल मुखिया लगायत ४ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।  
लागू औषध नियन्त्रण ब्युरो सिराहा शाखा र  इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले स.९ प ६६७१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त लागू औषध सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

© Copyright 2023 Eradiojuntara.com. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech