काठमाण्डौ – नवनियुक्त सहरी विकास मन्त्री विक्रम पाण्डेले सबैभन्दा पहिला देशभरका तुइन विस्थापित गरेर झोलुङ्गे पुल बनाउने प्रतिबद्धता जनाउनुभएको छ ।
मङ्गलवार सहरी विकास मन्त्रीको शपथ ग्रहणपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री पाण्डेले यस्तो प्रतिबद्धता जनाउनुभएको हो । नेपालको पश्चिम क्षेत्रमा खोलामा झोलुङ्गे पुल नहुँदा मानिसहरू तुइनबाट खोला तर्दा खसेर ज्यान गइ रहेको भन्दै सबैभन्दा पहिला मन्त्रालयले तुइन हटाएर झोलुङ्गे पुल बनाउने बताउनुभएको हो ।
मन्त्री पाण्डेले अब नेपालको कालीगण्डकी क्षेत्रमा हरेक आधा घण्टाको फरकमा झोलुङ्गे पुल निर्माण गरिने बताउनुभयो । उहाँले सहरी विकास मन्त्रालयमा गर्नुपर्ने कामको प्राथमिकताका आधारमा काम गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सहरी विकास मन्त्रालय फरक तरिकाले अगाडि बढ्छ । सहरी विकास मन्त्रालयमा काम किन हुन नसकेको भन्ने थाहा छ । अब त्यस्ता समस्या आउन नदिने सोचले मलाई मन्त्रालयमा पठाइएको छ, त्यो पूरा गरेर देखाउँछु । पश्चिमतिर तुइनबाट खसेर मानिसहरूको ज्यान गएको छ, त्यो काम यो मन्त्रालयले अहिलेसम्म पनि पूरा गर्न सक्दैन भने मन्त्रालयको स्थापना भएर काम छैन । त्यो काम सबैभन्दा पहिला पूरा गरिन्छ । त्यहाँ सबैभन्दा पहिला तुइन हटाएर झोलुङ्गे पुल बनाउने काम पूरा गरिन्छ ।’
मन्त्री पाण्डेले आफूलाई सहरी विकास निर्माणको विषयमा जानकारी भएकाले कुनै स्वार्थ नबाझिने तर्क गर्नुभयो ।