हेलिकप्टर दुर्घटनामा युक्रेनका मन्त्रीसहित १६ जनाकाे ज्यान गयाे

रेडियो जुनतारा डेस्क    प्रकाशित: २०७९-१०-४ गते   ३५६५ पटक हेरिएको

एजेन्सी - युक्रेनकाे राजधानी किएभको बाहिरी भेगमा रहेकाे शिशु पाठशाला नजिक बुधवार भएको हेलिकप्टर दुर्घटनमा परि युक्रेनका आन्तरिक मामिला मन्त्रीसहित १६ जनाको ज्यान गएको छ । दुर्घटनामा दुई जना बालबालिकाकाे पनि ज्यान गएकाे अधिकारीहरूले बताएका छन् । 

राष्ट्रिय प्रहरी प्रमुख इगोर क्लेइमन्कोले अहिलेसम्म १६ जनाको ज्यान गएको जानकारी प्राप्त भएको बताउनुभएको छ । आन्तरिक मामिला मन्त्रालयका उच्च अधिकारी, आन्तरिक मामिला मन्त्री डेनिस मोनास्ट्रास्के र उहाँका उपमन्त्रीको ज्यान गएको छ । 

अनलाइनमा पोस्ट गरिएको एउटा भिडियोमा हेलिकप्टरमा आगो लागेको देखिन्छ भने रुवावासी भएको आवाज सुनिन्छ । दुर्घटनाकाे सम्बन्धमा तत्काल थप विवरण प्राप्त भएको छैन ।

४२ वर्षीय आन्तरिक मामिला मन्त्री मोनास्ट्रास्के दुई सन्तानका पिता हुनुहुन्छ । उहाँ दुई वर्षअघि मन्त्री नियुक्त हुनुभएको थियो । 

दश जना बालबालिकासहित २२ जनालाई अस्पताल भर्ना गरिएको छ । दुर्घटनाका बेला शिशु पाठशालामा कर्मचारी र बालबालिका थिए । प्रहरी र चिकित्साकर्मी दुर्घटनास्थलमा उद्धार तथा उपचारमा सक्रिय छन् ।

© Copyright 2023 Eradiojuntara.com. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech