गौशालामा १५ शैय्याको प्राथमिक अस्पतालको नगर प्रमुख डा. महतोद्वारा शिलान्यास

रेडियो जुनतारा डेस्क    प्रकाशित: २०८०-१-४ गते   ३९०६ पटक हेरिएको

ममता शर्मा

गौशाला , बैशाख ४ गते

महोत्तरीको गौशालामा १५ शैयाको प्राथमिक अस्पताल निर्माण हुन लागेको छ । जसको तिन तल्ले भवनको आज गौशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महतोले शिलान्याश गरेका हुन् ।

गौशाला नगरपालिका वडा न.४ जिरोमाइल स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्रको परिसर भित्र अस्पताल निर्माण हुन लागेको हो ।  नगरपालिकाले अस्पताल निर्माणका लागि श्री नमुना कन्स्ट्रक्सन प्रा.लि. कम्पनिलाई १२ करोड ४९ लाख ७९ हजार ३१ रकममा ठेक्का दिइएको नगर प्रमुख महतोले जानकारी दिए ।

संघीय सरकारबाट अस्पताल निर्माणका लागि बजेट विनियोजन गरिएको नगर प्रमुख महतोको भनाई छ । कम्पनिले २ वर्षमा अस्पताल निर्माण गरिसक्नुपर्ने गरि सम्झौता भएको महतोले बताए ।

हाल १५ शैय्याको अस्पताल निर्माण हुन लागेपनि पछी सय शैय्या सम्म पुर्याउने योजना रहेको नगर प्रमुख महतोले जानकारी दिएका छन् । त्यस्तै पछी सोहि अस्पताललाई टिचिङ हस्पिटलमा परिणत गरि एच.ए., फार्मेसी, नर्सिंग जस्ता विषय अध्यापन गराइने योजना उनको रहेको छ ।

उक्त अस्पताल निर्माण नहुन्जेलसम्म तत्काल स्वास्थ्य कार्यालयभन्दा पश्चिम पट्टि रहेको (रोड वारी ) गौशाला -३ नवराजपुर निवासी फेकन महतोको निर्माणाधीन बिल्डिङमा उपचार सेवा प्रवाह गरिने उनले बताए करिब २ -३ महिना पछी सेवा सुचारु गरिने उनको भनाइ छ ।

शिलान्यास कार्यक्रममा नगरप्रमुख डा. महतो सहित वडा न.५ को वडा अध्यक्ष ओमप्रकाश गुप्ता ,वडा न.४ का वडा अध्यक्ष रामनारायण (रामु ) महासेठ ,  वडा न.१२ का वडा अध्यक्ष कुशेश्वर सिंह लगायत विभिन्न कर्मचारीहरुको सहभागिता रहेको थियो ।

© Copyright 2023 Eradiojuntara.com. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech