ममता शर्मा
गौशाला , बैशाख ४ गते ।
विद्यालय भर्ना अभियान तीव्र भएका बेला महोत्तरीको गौशाला नगरपालिकामा अवस्थित सबै सामुदायिक विद्यालयमा नर्सरीदेखि कक्षा १ सम्म अंग्रेजी माध्यममा पठनपाठन हुने भएको छ ।
गौशाला नगरपालिकाका सबै सामुदायिक विद्यालयले पनि यसै शैक्षिक सत्रदेखि कक्षा १ सम्म अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्ने योजना बनाएको नगरप्रमुख डा. दिपेन्द्र महतोले जानकारी दिए ।
‘हामीले नर्सरीदेखि कक्षा १ सम्म अङ्ग्रेजी माध्यमबाट समेत पठनपाठन गर्ने तयारी गरेका छौँ’, नगर प्रमुख महतोले भने, ‘विद्यालयको गुणस्तर वृद्धि गर्दै विद्यार्थीलाई आकर्षित गर्ने योजना बनाएका हौँ ।’
गुणस्तरीय अंग्रेजी माध्यमबाट पठनपाठन शुरु भएपछी अभिभावको सक्रियता र बालबालिकाको आर्कषण बढ्ने नगरप्रमुख महतोको विश्वास छ ।
पछिल्लो पटक निजी विद्यालयमा विद्यार्थीको मोह हुने र सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण घट्दै गएका कारण गौशाला नगरपालिकामा पनि सामुदायिक विद्यालयले अंग्रेजी माध्यममा पढाइ सुरु गरेपछि यसले ब्यापक प्रतिफल पाउने आशा गरिएको छ ।
विद्यार्थी संख्याको अनुपातमा सरकारी शिक्षकको अभाव र भौतिक संरचनाको अभाव उत्तिकै रहेकोले सम्बन्धित निकाय समक्ष पहल गरि यसलाई व्यवस्थित गर्ने नगरप्रमुख महतोले बताए ।