जनकपुरधामका मेयर लालकिशोर साहमाथि वडाध्यक्षहरुद्वारा सर्वोच्च अदालतमा मुद्दा दायर

रेडियो जुनतारा डेस्क    प्रकाशित: २०७७-३-३१ गते   ६७०१ पटक हेरिएको

जनकपुरधाम, असार ३१ 

जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले फर्जी हस्ताक्षरबाट बहुमत पुगेको देखाएर नगरसभा गरेको भन्दै वडाध्यक्षहरुले सर्वोच्च अदालतमा मुद्दा दिएका छन् ।

मेयर साहले प्रचलित ऐनकानूनलाई धज्जी उडाउँदै कानून विपरीत नगरसभा सम्पन्न गरेको भन्दै उनीविरुद्ध आफुहरूले सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएको वडा नम्बर–९ का वडाध्यक्ष परमेश्वर साहले जानकारी दिए ।

आफूहरुले जनकपुरधाम उपमहानगरपालिकाको हिसाब पारदर्शी गर्न र कानूनी राज्यको पालना गराउन बारम्बार आग्रह गर्दा समेत मेयर साहले कानून विपरीत मनोमानी गरेको उनीहरूको आरोप छ । मेयरले रातीको समयमा मूल्य मान्यता विपरीत नगरसभा समपन्न गरेर सम्पूर्ण नगरवासीलाई ठगेको वडाध्यक्ष साहले आरोप लगाए ।

वडाध्यक्ष साहले आफूहरुले सभा रद्द हुनुपर्ने माग दावीसहित सर्वोच्चमा उत्प्रेषन मुद्दा हालेको बताए । वाड नम्बर–७ का वडाध्यक्ष जानकीराम साह, सदस्य नाजिर हुसैन र स्वयं लगायत ३ जनाले निवेदन दिएको वडाध्यक्ष साहको भनाइ छ ।

जनकपुरधाम उपमहानगरपालिकाले पाँचौं नगरसभा अधिकांश वडाध्यक्षहरुको असन्तुष्टिका वावजूद पनि असार १० गते राती सम्पन्न गरेको थियो । अधिकांश वडाध्यक्षहरुले मेयर लालकिशोर साहले १५÷२० जना बसेर फर्जी हस्ताक्षर गरी बहुमत पु-याएको देखाएर गैरकानूनी ढंगबाट नगरसभा सम्पन्न गरेको आरोप लगाए । वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहले भने,‘हामीले चालू आर्थिक वर्षको खर्च विवरण देखाउनुपर्ने र आगामी वर्षको नीति तथा कार्यक्रम कार्यपालिकामा छलफल भएपछि मात्रै नगरसभामा प्रस्तुत गर्न भनेका थियौं, तर एकैपटक नगरसभामै वितरण हुन्छ भनेपछि हामीले त्यो कार्यशैलीको विरोध गरेका थियौं ।’

कार्यपालिकाको बैठकबाट पारित भएपछि नीति तथा कार्यक्रम र बजेट पास भएपछि प्रस्तुत गर्नुपर्नेमा मेयर र उपमेयरले मनोमानी ढंगले काम गरेको उनले जिकिर गरेका छन् ।

© Copyright 2023 Eradiojuntara.com. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech